१२ वर्षको एकता अनुभव र नयाँ प्रतिबद्धता
विसं २०६९ मा स्थापना भएको नेपाल कस्मेटिक व्यवसायी संघले आफ्नो गौरवपूर्ण १२औँ वर्ष पूरा गरेको सुखद अवसरमा पहिलोपटक ‘कस्मेटिक स्मारिका–२०८२’ प्रकाशन गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ । यो स्मारिका केवल वार्षिकोत्सवको सम्झनास्वरूप प्रकाशित दस्ताबेज मात्र होइन, नेपालको कस्मेटिक व्यवसायको विगत, वर्तमान र भविष्यलाई समेट्ने सामूहिक प्रयासको ऐतिहासिक अभिलेख हो । संघको स्थापनाकालदेखि आजसम्मको यात्रामा देखिएका संघर्ष, उपलब्धि, चुनौती र सम्भावनालाई समेट्दै यस क्षेत्रको यथार्थ चित्र प्रस्तुत गर्ने उद्देश्यले यो प्रकाशन तयार गरिएको हो ।
नेपालमा कस्मेटिक व्यवसायमा निजी क्षेत्रको प्रवेशसँगै यस क्षेत्रले क्रमशः व्यावसायिक विस्तार, प्रतिस्पर्धात्मकता र गुणस्तरीय सेवा प्रवाहतर्फ फड्को मारेको छ । प्रारम्भिक चरणमा नीतिगत अस्पष्टता, आयात–निर्यात प्रक्रियाको जटिलता, गुणस्तर मापदण्डसम्बन्धी सीमित व्यवस्था तथा नियामक समन्वयको अभावजस्ता चुनौतीहरूका बिच व्यवसायीहरूले निरन्तर संघर्ष गर्दै आजको अवस्थासम्म ल्याइपु¥याएका छन् । सफलताको पछाडि भोगिएका सास्ती, कठिन परिश्रम र दृढ प्रतिबद्धतालाई यस स्मारिकामा आत्मीय ढंगले प्रस्तुत गरिएको छ । यसले नयाँ पुस्ताका व्यवसायीलाई प्रेरणा दिनुका साथै नीति निर्मातालाई यथार्थ बुझ्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।
आयातमा निर्भरता, अनौपचारिक व्यापार, कर संरचनाको जटिलता तथा गुणस्तर नियन्त्रणसम्बन्धी चुनौती अझै विद्यमान रहे पनि अवसरका ढोका उत्तिकै खुला छन् । स्वदेशी उत्पादनको सम्भावना, रोजगारी सिर्जना, महिला उद्यमशीलताको प्रवद्र्धन तथा साना-मझौला व्यवसायको सुदृढीकरणजस्ता पक्षहरू भविष्यका प्रमुख प्राथमिकता हुन सक्छन् भन्ने दृष्टिकोण पनि यस स्मारिकामा समेटिएको छ ।
संघ स्थापना भएदेखि नीतिगत सुधार र व्यावसायिक वातावरण सुदृढीकरणका लागि संघले निरन्तर पहल गर्दै आएको छ । सम्बन्धित सरकारी निकायसँग समन्वय, कानुनी तथा प्रक्रियागत सरलीकरणका लागि सुझाव, व्यवसायीहरूबिच एकता र सहकार्यको वातावरण निर्माण, गुणस्तर तथा उपभोक्ता हित संरक्षणमा सचेतना अभिवृद्धिजस्ता कार्यहरू संघका महŒवपूर्ण उपलब्धि हुन् । तथापि, अझै सुधार गर्नुपर्ने क्षेत्रहरू स्पष्ट छन् । त्यसैले यस स्मारिकामा वर्तमान समस्या र तिनका सम्भावित समाधानहरूलाई तथ्य र अनुभवका आधारमा प्रस्तुत गरिएको छ, जसले आगामी नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ ।
यस प्रकाशनलाई समृद्ध बनाउन नेपाल सरकारका प्रतिनिधि, विज्ञ–विशेषज्ञहरू, निजी क्षेत्रको हक–हितका लागि स्थापित संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू तथा कस्मेटिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यवसायीहरूका विचार, विश्लेषण र अनुभवहरू समावेश गरिएको छ । विभिन्न दृष्टिकोणहरूको समावेशले यस स्मारिकालाई बहुआयामिक र सन्तुलित बनाएको आभास भएको छ ।
नेपालमा कस्मेटिक सामग्रीको उत्पादन, आयात, वितरण तथा बिक्री व्यवसायमा संलग्न व्यवसायीहरूको छाता संगठनका रूपमा स्थापित नेपाल कस्मेटिक व्यवसायी संघले यो स्मारिकामार्फत यस क्षेत्रले भोग्दै आएका संरचनात्मक समस्या, नीतिगत कमजोरी र सुधारको आवश्यकता स्पष्ट रूपमा उजागर गर्न खोजेको छ । यसले व्यवसायी, नीति निर्माता, नियामक निकाय तथा उपभोक्ताबिच समझदारी र सहकार्यको नयाँ आधार निर्माण गर्ने विश्वास लिएका छौँ ।
यस स्मारिका प्रकाशनमा आफ्नो अमूल्य लेख, शुभकामना र सुझाव प्रदान गर्नुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । प्रकाशन कार्यमा मार्गदर्शन गर्नुहुने संघका वर्तमान कार्यसमितिका पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू तथा सम्पूर्ण सदस्यहरूप्रति कृतज्ञता ज्ञापन गर्दछौँ । साथै, स्मारिका प्रकाशनलाई सफल बनाउन विज्ञापनमार्फत सहयोग प्रदान गर्नुहुने सम्पूर्ण विज्ञापनदाता, व्यवस्थापन र सम्पादन कार्यमा साथ दिनुहुने सबै सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
‘पहिलो कस्मेटिक स्मारिका–२०८२’ नेपालको कस्मेटिक क्षेत्रको दिगो, व्यवस्थित र प्रतिस्पर्धी विकासतर्फको सामूहिक प्रतिबद्धताको प्रतीक बन्नेछ भन्ने दृढ विश्वास व्यक्त गर्दै यसलाई सम्पूर्ण सरोकारवालाको साझा दस्ताबेजका रूपमा ग्रहण गरिदिनुहुन अनुरोध गर्दछौँ ।ह